काठमाडौं । भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जेनजी पुस्ताले सोमबार माइतीघर मण्डलामा आयोजना गर्न लागेको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति दिएको छ।
स्वतन्त्र नेपाली युवाहरूले भोलि बिहान ११ बजेदेखि माइतीघरमा आयोजना गर्न लागेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निश्चित सर्तसहित स्वीकृति दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, प्रदर्शनमा निषेधित क्षेत्र नाघ्ने, तोडफोड गर्ने वा हिंसात्मक गतिविधि नगर्ने शर्त राखिएको छ।
आइतबार प्रमुख जिल्ला अधिकारीसहित बसेको सुरक्षा समितिको बैठकले प्रदर्शनमा सुरक्षा परिचालन बढाउने निर्णय गरेको छ।
कार्यक्रम संयोजक सबल गौतम र पुरुषोत्तम यादवले युवाहरूलाई स्वतन्त्र रूपमा सहभागी गराउने र शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न प्रशासनसँग समन्वय मिलाइरहेको जानकारी दिएका छन्।
उक्त प्रदर्शनमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह लगायतले समर्थन जनाएका छन्।












