काठमाडौं । काठमाडौंको शंखपार्कको वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको छ । मंगलबार मध्याह्न १२ः३० बजे त्यहाँको वायुको गुणस्तर अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४५७ पुगेको छ ।
यो मानव स्वास्थ्यका लागि निकै अस्वस्थ वायु मानिन्छ । वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
यस्तै, ललितपुरका भैँसेपाटी र खुमलटार, कास्कीको पोखरा, दाङको देउखुरीको वायु पनि मंगलबार अस्वस्थकर छ । ती स्थानको एक्यूआई १५२ देखि १७७ सम्म मापन गरिएको छ ।
शंखपार्कमा पीएम (पर्टिकुलेट म्याटर) १० को मात्रा बढेर २३८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।












