काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आधारभूत तहका प्रहरी कर्मचारीहरूको मनोबल उकास्ने कार्यक्रम ल्याउन निर्देशन दिएका छन्।
७०औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जवानदेखि वरिष्ठ हवल्दारसम्मका प्रहरी कर्मचारीको कार्यप्रेरणा र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए।
उनका अनुसार भीड तहमा खटिने आधारभूत दर्जाका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी मात्र होइन, नेपाल सरकारकै प्रतिनिधित्व गर्ने भएकाले उनीहरूको सेवा र आचरणबाट नागरिकमा प्रहरीप्रतिको धारणा निर्माण हुने गर्छ।
मन्त्री अर्यालले भने, “ती प्रहरी कर्मचारीहरूको मनोबल उकास्ने र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू पहिचान गरी मन्त्रालय तथा सरकारले आवश्यक सहयोग गर्न तयार रहन्छ।”
उनीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी प्रहरीसँग रहेको उल्लेख गर्दै शान्ति सुरक्षाको कार्यमा साधन र स्रोत अभावले प्रभाव पार्न नदिन गृह मन्त्रालय सचेत रहेको बताए।
अविरल वर्षाका कारण हालै उत्पन्न विपद्मा जनधनको ठुलो क्षति भएको स्मरण गर्दै मन्त्री अर्यालले आफ्नो ज्यान जोखिममा राखी उद्धार र राहतमा संलग्न प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे।
उनले केही सीमित प्रहरी कर्मचारीहरूको व्यवहारमा सुधार आवश्यक रहेको जनाउँदै प्रहरीलाई अझ जनमैत्री, छिटोछरितो र प्रविधिमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
मन्त्री अर्यालले प्रविधिको तीव्र विकाससँगै नयाँ प्रकारका अपराध बढ्दै गएको बताउँदै प्रहरीलाई त्यसका लागि सधैं तयार रहन आग्रह गरे। उनका अनुसार गृह मन्त्रालयको प्रमुख प्राथमिकता प्रहरीलाई पर्याप्त साधन र स्रोत उपलब्ध गराई देश र नागरिकको सुरक्षालाई सुदृढ बनाउनु हो।












