काठमाडौं । गृह मन्त्रालयले सरुवा वा पदस्थापनको निर्णय भएपनि तोकिएको कार्यालयमा एक महिनासम्म पनि हाजिर हुन नगएका २३ कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन जारी गरेको छ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार वेभ पोर्टलमार्फत सूचना सार्वजनिक गर्दै १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बालाई तत्काल खटाइएको कार्यालयमा हाजिर हुन आदेश दिएको हो।
सूचनामा भनिएको छ, “यस मन्त्रालयको विभिन्न मितिको निर्णयअनुसार सरूवा/पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जाने सम्बन्धी सूचना जारी गरिएको छ।”
उक्त कर्मचारीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र कारागार प्रशासन जस्ता महत्वपूर्ण निकायहरूमा खटाइएको मन्त्रालयले जनाएको छ।
गृह प्रशासनको कार्यसम्पादनमा असर पुग्ने अवस्था सिर्जना भएको भन्दै मन्त्रालयले तोकिएको समयसीमाभित्र हाजिर नभए कारवाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।













