काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबै पक्षसँग सहकार्य गर्न आह्वान गरेकी छन्। छठ पर्वको अवसरमा शुभकामना दिँदै उनले फागुन २१ गते तय भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबैको जिम्मेवारी र सहभागितामा जोड दिएकी छन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण तरिकाले राखी आम जनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।”
उनले आगामी निर्वाचनलाई सामाजिक एकता, सद्भाव र भ्रातृत्वको सन्देश प्रवाह गर्ने अवसरका रूपमा उपयोग गर्न सबै पक्षसँग आग्रह गरेकी छन्। उनले जनताको मन जित्ने र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्ने महत्वपूर्ण जिम्मेवारी अहिलेको सबै राजनीतिक दल र नागरिकमाथि रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले छठ जस्ता चाडपर्वहरूले सांस्कृतिक र सामाजिक रूपमा तराई, पहाड र हिमाल जोड्ने सेतुको भूमिका खेल्ने उल्लेख गर्दै सबैमा सद्भाव र खुसीयाली फैलियोस् भन्ने कामना व्यक्त गरिन्। उनले सबै नेपालीबीच अहिले अझै एकता र सद्भावको आवश्यकता रहेको पनि जोड दिएकी छन्।
छठ पर्वमा पवित्र आस्था, कठिन व्रत र सजिएका नदी तथा तलाउका किनारले समाजमा सकारात्मक ऊर्जा र एकता प्रवाह गर्ने उनको भनाइ छ। उनले सबै नागरिकलाई पर्वको महत्व बुझ्दै, सामाजिक मेलमिलाप र सद्भाव कायम राख्ने संदेश दिने आग्रह गरेकी छन्।












