काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनाव गर्न मात्र नभएर सुशासन र भ्रष्टाचारीलाई ठेगान लगाउने सरकार भएको बताएकी छन्।
सोमबार भ्रष्टाचारविरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवस अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले नियमित कार्यसँगै भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको बताएकी हुन्।
‘जेनजीका माग र अपेक्षाबमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर, भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्’, प्रधानमन्त्री कार्कीले भनिन्।
उनले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रुपमा धम्क्याए पनि आफूहरु नडराउने बताइन्। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरिन्।












