काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिले गम्भीर भ्रष्टाचार, अराजकता र विदेशी हस्तक्षेपले जकडिएको दाबी गर्दै त्यसको अन्त्यका लागि राजसंस्था पुनर्स्थापनाको आवश्यकता रहेको बताएका छन्।
पार्टीको नीति तथा अनुसन्धान विभागले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, “देश अहिले अभिभावकविहीन अवस्थामा पुगेको छ। राजसंस्था नभएकै कारण सत्ता छाडातन्त्रको खेलमैदान बनेको छ।”
उनले संस्थागत रूपमा भ्रष्टाचार डरलाग्दो ढंगले फैलिएको दाबी गर्दै कसैको डर नभएकोले अब राष्ट्रविरोधी गतिविधि गर्न पनि संकोच नगर्ने अवस्था देखिएको उल्लेख गरे।
थापाले धर्म निरपेक्षताको नाममा धर्मान्तरणको डढेलो सल्किएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। यस्तो परिस्थितिमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि राजसंस्था जरुरी भएको उनको ठहर छ।
“राजसंस्था हाम्रो आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो। आजको संकट समाधान गर्न हामी राजसंस्था पुनःस्थापनाका पक्षमा स्पष्ट छौं,” थापाले भने।
उनको भनाइमा, वर्तमान राजनीतिक प्रणालीले न त जनताको विश्वास जित्न सकेको छ, न त राष्ट्रिय हितलाई संरक्षण गर्न। त्यसैले अब विकल्पको रूपमा राजसंस्था अगाडि ल्याउनु पर्ने समय आएको उनले संकेत गरे।












