काठमाडौं । रुपन्देहीमा आयोजित विद्युत कटौती विरोधी कार्यक्रममा बोल्दै गरेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रममा बोल्दा अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याइए पनि त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन्।
कार्यक्रममा बोल्दै गौतमले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए। उनले उद्योगीहरूले नियमित मासिक विद्युत महसुल तिर्दा पनि अचानक चार वर्षको बिल थमाउँदा पिडित भएको बताउँदै, श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए।
गौतमले भने, “आम जनमानसमा भ्रम सृजना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ, तर उद्योगपतिले ठगेको छैन। सरकार र विद्युत प्राधिकरणको गैरजिम्मेवारीपनको कारणले यो भएको हो।”
उनले आन्दोलनलाई साङ्केतिक रूपमा मात्र लिन जरुरी रहेको भन्दै २५ हजार श्रमिकहरूको रोजगारी गुमिरहेको स्थिति बारे ध्यानाकर्षण गराएका थिए। बोली दौरान उनको स्वास्थ्य बिग्रिएपछि “अतः यो कारणले………” भन्दै गर्दा उनी अचानक ढले।












