काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ अहिले केवल एक निर्वाचन क्षेत्र मात्र होइन, नेपाली राजनीतिमा पुस्तान्तरण, नैतिकता र नेतृत्वको चरित्रमाथि बहस हुने केन्द्र बनेको छ । यही बहसको केन्द्रमा उभिएकी छन् – उम्मेदवार कल्पना शर्मा ।
संघर्षबाट आएको राजनीतिक चेतना

कल्पना शर्माको राजनीतिक यात्रा कुनै एक दल, पद वा सत्तासँग सीमित छैन । उनी आफूलाई “आन्दोलन र मुद्दाबाट निर्माण भएको नेतृत्व” को रूपमा प्रस्तुत गर्छिन् । भ्रष्टाचार र बेतिथिको विरुद्ध बुलन्द आवाज उठाउने, सुशासन र सामाजिक न्यायको पक्षमा अडिग रहने उनको सार्वजनिक अभिव्यक्ति आजको राजनीतिक परिवेशमा सामान्य नारा मात्र होइन, सार्वजनिक अपेक्षासँग मेल खाने राजनीतिक प्रतिबद्धताका रूपमा हेरिन थालेको छ ।
महिला अधिकारको सवालमा निरन्तर सक्रियता, असहाय र पीडित नागरिकका लागि अदालतसम्म पुग्ने प्रतिवद्धताले शर्मालाई केवल राजनीतिक उम्मेदवार नभई सामाजिक अभियन्ताको पहिचान दिएको देखिन्छ ।
‘जेनजी’ र ‘पाका पुस्ता’बीच सेतु बन्ने प्रयास
शर्माले आफूलाई युवाको आवाज-विशेषतः जेनजी पुस्ताको प्रतिनिधिको रूपमा अघि सारेकी छिन् । तर उनको राजनीतिक प्रस्ताव केवल युवामुखी नारामा सीमित छैन । उनले पाका पुस्ताको अनुभवलाई जेनजी पुस्तामा पुस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेकी छिन्, जसले पुस्ताबीचको टकराव होइन, समन्वयको राजनीति संकेत गर्छ ।
यो दृष्टिकोण काठमाडौं–५ जस्तो शहरी, शिक्षित र चेतनशील मतदाता भएको क्षेत्रमा विशेष अर्थ राख्छ, जहाँ परिवर्तन चाहिन्छ तर अस्थिरता होइन भन्ने भावना बलियो देखिन्छ ।
विगतका निर्वाचन र आजको प्रश्न
शर्माले विगतका दुई निर्वाचनमा खेलेको भूमिकाले आजको उनको उम्मेदवारीलाई थप रोचक बनाएको छ । २०७४ मा तत्कालीन एमालेका ईश्वर पोखरेललाई जिताउन नेकपा माओवादी केन्द्रको कमाण्डर बनेर हिँडेकी थिइन । २०७९ मा नेपाली कांग्रेसका प्रदीप पौडेललाई जिताउन घर–घर पुगेको अनुभव उनीसँग छ । यी दुवै निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले एमाले र कांग्रेससँग चुनावी गठबन्धन गरेको थियो ।
शर्मा अहिले दलभन्दा मुद्दालाई प्राथमिकता दिने नेतृको रूपमा प्रस्तुत भएकी छिन् । शर्माको तर्क स्पष्ट छ । ईश्वर पोखरेलजस्ता पाका नेताले अब छोरी पुस्तालाई सघाउने राजनीतिक परिपक्वता देखाउनुपर्ने समय आएको छ । प्रदीप पौडेल जेनजी आन्दोलनको पृष्ठभूमिमा मन्त्रीसमेत भइसकेको अवस्थामा फेरि उम्मेदवार बन्नु नैतिक हिसाबले पनि प्रश्नयोग्य रहेको उनको दाबी छ ।
नैतिकता भर्सेस सत्ता–केन्द्रित राजनीति
काठमाडौं–५ को चुनावी बहस अहिले “को जित्छ ?” भन्दा पनि “को जित्नुपर्छ ?” भन्ने प्रश्नतर्फ मोडिएको देखिन्छ । लामो समयदेखि सत्ता, पद र अवसर पाएका नेताहरू पुनः मैदानमा उत्रँदा मतदाताले नैतिकता, उत्तरदायित्व र परिणाम खोजिरहेका छन् ।
यही सन्दर्भमा कल्पना शर्माको उम्मेदवारीलाई धेरैले नैतिक विकल्पका रूपमा हेर्न थालेका छन् । किनकी शर्मा हालसम्म मन्त्री नबनेको, सत्ताको स्वाद नचाखेको, तर आन्दोलन, संघर्ष र मुद्दामा खारिएको पृष्ठभूमिलाई आफ्नो राजनीतिक पूँजी बनाएकी छिन् ।
माघ ६ गते उम्मेदवारी दर्ताका क्रममा शर्माले दिएको सन्देश स्पष्ट थियो – काठमाडौं–५ लाई अब पुरानै अनुहार र पुरानै शैलीले होइन, नयाँ सोच र जवाफदेही नेतृत्वले प्रतिनिधित्व गर्नुपर्छ । किनकी यहाँका मतदाताको मनोविज्ञान बुझ्दा, यहाँका नागरिक विकासभन्दा बढी सुशासन, पारदर्शिता र राजनीतिक इमान्दारी खोजिरहेका छन् । यहीँ बिन्दुमा शर्माको एजेन्डा मतदाताको अपेक्षासँग प्रत्यक्ष जोडिन्छ ।
कल्पना शर्माको उम्मेदवारी कुनै बाध्यताबाट आएको राजनीतिक निर्णय होइन । यो विकल्प निर्माणको प्रयास हो पुस्तान्तरण, महिला नेतृत्व, नैतिक राजनीति र मुद्दा–आधारित प्रतिनिधित्वको विकल्प ।
काठमाडौं–५ मा परिवर्तनको बहस निर्णायक मोडमा पुगेको छ । यदि मतदाताले पुरानै अभ्यास दोहोर्याउने कि नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् भने कल्पना शर्मा त्यस उत्तरको केन्द्रमा उभिएको नाम बन्न सक्छिन्।












