काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले इरानमाथि आक्रमण गरेर २०२५ जुन २१ मा गरेको संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लङ्घन गरेको दाबी गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको समेत उल्लङ्घन गरेको बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘केही दिन अघिदेखि इजरायली विस्तारवादीहरूले अमेरिकी उक्साहटकै आधारमा इरानमाथि हिंसक हमला गर्दै आइरहेका थिए। इरानी जनता त्यसको प्रतिरोध गर्दै आइरहेका थिए। यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धुरा पसेर इरानमाथि अत्यन्त क्रूर र फासिस्ट आक्रमण गरेका छन् र इरानले नवनिर्माण गर्दै गरेको तीन वटा आणविक केन्द्रहरूलाई ध्वस्त पारेको दाबी गरेका छन्। अमेरिकाले २०२५ जुन २१ मा गरेको यो नाङ्गो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्रलाई समेत उल्लङ्घन गरेको छ। अन्तर्राष्ट्रिय कानुनलाई उल्लङ्घन गरेको छ।’
देश देश बीचको सामान्य अन्तर्राष्ट्रिय सम्बन्धको नियमहरूलाई पनि उल्लङ्घन गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा जङ्गली राजको नमुना प्रदर्शन गरेको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘उसले आफ्नै देशका नियम, कानुन र प्रचलनलाई समेत उल्लङ्घन गरेको छ र विश्व शान्ति र मध्यपूर्वको शान्तिका विरुद्ध गम्भीर खतरा उपस्थित गरेको छ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट म यो फासिस्ट आक्रमणको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछु।’
उनले इजरायली विस्तारवादी शासकहरूले युद्ध उन्मादका साथ इरानमाथि नै आक्रमण गरिरहेको बेला अमेरिकी सरकारले इरानमाथि गरेको उपरोक्त आक्रमणले सिङ्गो विश्वको र विशेषगरी मध्यपूर्वको शान्ति नराम्ररी खलबलिएको उल्लेख गरेका छन्।













