काठमाडौं । ताप्लेजुङ पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको छ।
आज दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोजेका थिए। त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए।
ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय दमकले त्यसपछि केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो र दुवै पक्षबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।












