काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी नेतृत्व छाडेर संरक्षक भएर बस्न सुझाव दिएका छन् । साउन २५ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठक अन्तर्गत साउन २६ गते १४ पृष्ठ लामो लिखित सुझाव पेस गरेका शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।
नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।’
शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् । हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने विचार राखेका हुन् ।
‘हामी शून्यतर्फ उन्मुख छौं’
प्रतिवेदनमा शर्माले २०६४ सालमा भएको संविधान सभाको पहिलो चुनावदेखि २०७९ मा भएको संघीय निर्वाचनसम्मको अवधिमा माओवादीको घट्दो जनमतबारे पनि उल्लेख गरेका छन् ।
त्यसो त माओवादी केन्द्रले जनार्दनकै शैलीमा अहिलेसम्म आधिकारिक ढङ्गले शक्ति क्षयीकरणका कारण र अवस्था स्वीकार्न सकेको थिएन । यसअघि उनी स्वयम् माओवादीको विगत, वर्तमान र आगतबारे सोधिएका प्रश्नमा चिढिने गर्थे ।

तर, पछिल्लो प्रतिवेदनमा शर्माले माओवादीको पार्टीको हालतबारे एक वाक्यमा सटिक ढङ्गले लेखेका छन्, ‘हामी शून्यतर्फ उन्मुख छौं ।’
‘२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ,’ शर्माले प्रतिवेदनमा लेखेका छन्, ‘त्यसपछिका चुनावमा कुल मतदाता सङ्ख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौँ ।’
अहिले पार्टीमा रहेका बाँकी मानिसहरू पनि असन्तुष्टि बोकेर बाँचेका शर्माले दाबी गरेका छन् । यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व अर्थात् प्रचण्ड र उनको नेतृत्वको टीममा रहेका आफूहरूले लिन आनाकानी गरिरहेको शर्माले स्वीकारेका छन् ।
‘आश्वासन बाँडेर पूरा नगर्दा नगर्दा साँघुरियौँ’
स्थायी कमिटी बैठकमा पेश गरेका प्रतिवेदनमा शर्माले माओवादी पार्टी साँघुरिनुमा विभिन्न चारित्रिक र व्यवहारगत समस्याहरू रहेको उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टीको साँघुरिदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर हो,’ उनले लेखेका छन्, ‘शान्ति प्रक्रियामा आए यता हाम्रो तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरू सही नभएको, हाम्रो बसाई उठाई, रहनसहन राजामहाराजाको जस्तो भएको जनताले मन पराएनन् ।’
अब आफूहरूलाई अँगालो हाल्न चाहने आफ्नै वर्गले भरथेग गरिदिन नसक्ने र स्वार्थ लिन सुमसुम्याउन चाहनेहरूलाई खोजेजस्तो अवसर दिन नसकिने अवस्थामा आफूहरू पुगेको शर्माले प्रतिवेदनमा लेखेका छन् ।
यसबीच आफूहरू सीमित मान्छेको घेरामा टाढैबाट दर्शनभेट हुने वातावरणमै रमाउन थालेको शर्माले स्वीकारेका छन् । माओवादी नेताहरूमाथि भुइँ तहका कार्यकर्ताहरूले शान्तिप्रक्रिया शुरू भएदेखि नै यो गुनासो गर्ने गरेका थिए ।
उठाए पाँच प्रश्न
आफ्नो प्रतिवेदनमा शर्माले माओवादी पार्टीको भविष्यलाई लिएर विभिन्न पाँच प्रश्न उठाएका छन् । ती प्रश्न यस्ता छन्-
१. के हामी यो अवस्थाको अन्त्य गरी पुरै जनतामा जानसक्ने वातावरण बनाउन सकौंला ?
२. हामीले जनताका लागि उठाएका मुद्दा र नाराहरुलाई पुनः जनताको विश्वास जागृत हुनेगरी उठाउन र पूरा गर्न संघर्ष गर्न सकौँला ?
३. कार्यकर्ताहरुले आफ्नो नेतृत्व आफै निर्माण गर्ने विधि र व्यवहार लागू गर्न सकौंला ?
४. आदेशमा मात्र चल्ने पार्टीलाई जनताको सेवामा स्चालित बनाउन सकौंला ?
५. अन्य पार्टी र हाम्रो पार्टीबीचको राजनैतिक र जनताको लागि फरक यस्तो छ भनी छुट्याउने कार्यशैली र व्यवहार बनाउन सकौंला ?












