इजरायल र इरानको युद्धमा अमेरिका अचानक प्रवेश गरेसँगै त्यसको जोखिम र प्रभाव चौतर्फी देखिएको छ । त्यसो त, अमेरिकाले युद्धविराम घोषण गरेपछि इरान इजरायलले पनि त्यसमा सहमति जनाएका छन् ।
झन्डै दुई साता लामो युद्धले सिंगो विश्व समुदायलाई नै तरंगित बनाइदियो । जुन १३ मा जब इजरायलले इरानमाथि हमला गर्यो त्यसपछि नै इरानले जवाफी हमला गर्न थालेको हो । तर विश्वशक्ति मानिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस युद्धबारे के निर्णय गर्ने भनेर एक सातापछि मात्रै निर्णय लिने जनाए पनि अमेरिकी सेनाले भोलिपल्टै इरानमाथि हमला गर्न थाले ।
जवाफी हमलाको रुपमा इरानले भने कतारमा रहेको अमेरिकी सैन्य बेसमाथि हमला गर्न थाल्यो । जब इरानले कतारमा रहेको सैन्य बेसमाथि हमला गर्यो त्यसपछि नै यो युद्धले अर्को मोड लिएको छ ।
यो युद्ध इजरायलका लागि निकै घातक सावित भयो । किनकि इजरायलले अघिल्ला युद्धहरुमा यति धेरै क्षति बेहोर्नु परेको थिएन ।
इरानका लागि पनि यो युद्ध पक्कै लाभदायी थिएन । तर पछिल्लो युद्धविरामले यस्तो अवस्थामा ल्याइदिएको छ कि इरानले यस युद्धमा आफ्नो अडान राख्न भने सफल भयो ।
इजरायल र इरानबीच युद्धमा जब अमेरिका प्रवेश गर्यो त्यसपछि नै यो झनै आक्रामक बन्दैगएको हो । यतिसम्म कि, कतारलगायत मध्यपूर्वी क्षेत्र पनि जोडिन थालेपछि यसले तेस्रो विश्वयुद्धकै रुप लिने जोखिम बढेर गएको थियो ।
जोखिममा खाडी क्षेत्र

कुनै पनि देश वा क्षेत्रमा जव अमेरिका वा चीन जस्ता ठूला शक्ति राष्ट्रहरुको रणनीतिक स्वार्थ जोडिन्छ उक्त क्षेत्र स्वतः संवेदनशील बन्ने गर्छ । त्यसो त, इरानले चीनसँग व्यापार विस्तारका लागि रेलमार्गमा जोडिन थालेपछि नै थप संवेदनशील भूराजनीतिक क्षेत्रको रुपमा चिनिदैआएको छ ।
विशेषगरी कतार, दुबइ, कुवेत, साउदी अरेबिया, बहराइन लगायत खाडी क्षेत्रहरु त्यहाँको शासन पद्दति र व्यापार जस्ता विषयले सधैँ जोखिममै रहँदैआएका छन् ।
लामो समयदेखि एउटै शासकको व्यवस्था र व्यापारमा केन्द्रिकृत गरिनुले पनि यी क्षेत्रलाई जुनसुकै बेला युद्ध वा द्धन्द्धले असर पार्नसक्ने देखिन्छ ।
त्यसो त, प्रसस्त तेल खानीहरु रहेका खाडी देशहरुमा ठूलो संख्यामा अमेरिकी सैन्यहरु तैनाथ छन् । अर्थात्, कतारसहित खाडी देशहरुमा ७० हजार अमेरिकी सैनिकहरु सैन्य बेसमा खटिएका छन् । पछिल्लो साता इरानले आक्रमण गरेको कतारको अमेरिकी सैन्य बेसमा १० हजार अमेरिकी सैनिक छन् ।
यससँगै विश्वभरका लागि महत्वपूर्ण व्यापारिक मार्ग मानिने मध्यपूर्वमा लामो समयदेखि अमेरिकाले प्रभावको रुपमा राख्दै आए पनि पछिल्लो समय चीनले पनि आफ्नो प्रभाव विस्तार गर्न थालेको छ । यसले पनि यस क्षेत्र द्वन्द्वको केन्द्रमा रहनसक्ने धेरै सम्भावना देखिन्छ ।
इजरायल र इरानबीच छोटो समय शक्तिशाली हमलाहरु भए र युद्धविराममा पुगेर रोकियो । तर के यो युद्धविरामले अब ती देशहरुको द्वन्द्व र अशान्तिलाई पनि समाप्त पार्छ त ? यो सम्भावना भने अति कम देखिन्छ ।
इजरायली पक्षहरुको बुझाइ के छ भने, यसपटक अमेरिकाले इजरायललाई धोका दियो । विशेषगरी डोनाल्ड ट्रम्पले इजरायलका नेता बेन्यामिन नेतान्याहुलाई धोका दिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ ।
छोटो समयमा अचानक युद्धमा प्रवेश गरेको अमेरिकाको यस्तो भूमिकाले अन्ततः इरानलाई नै फाइदा पुगेको धेरै विश्लेषकहरुको टिप्पणी छ ।
लामो समयदेखि गाजा क्षेत्रमा नरशंहार चलाएर युद्धको गहिरो खाडलमा धकेलिदिएको इजरायलको ध्यान भंग गर्न ट्रम्पले नयाँ रणनीति लिएको पनि कतिपयको भनाइ छ । आखिर जे भए पनि इजरायललाई अमेरिकाले यसपटक यस्तो अवस्थामा पुर्याइदियो कि, इजरायलले फेरि युद्ध गर्नुअघि धेरैपटक सोच्नुपर्ने छ ।
यद्यपि, इजरायलले कुनै पनि समयमा इरानमाथि आक्रमण गर्ने सम्भावना भने टरेको छैन । तर त्यसका लागि उसले वर्षौँदेखिको सहयोगी राष्ट्र अमेरिकाको समर्थन लिनुपर्ने बाध्यता भने छ ।
जवकि ट्रम्पको पछिल्लो भूमिकाबाट अब इजरायलका नेता नेतान्याहु पनि अमेरिकाप्रति सशंकित बनेका छन् । किनकि, ट्रम्पले आफूले युद्ध रोक्ने भनेर बारम्बार प्रतिबद्धता व्यक्त गर्दैआएका थिए ।
दक्षिण एसिया क्षेत्रमा युद्धको असर

इरान र इजरायलबीचको युद्ध अब रोकिए पनि कुनै पनि समय यस क्षेत्रमा युद्ध हुसक्ने कुरामा धेरैको सहमति छ । त्यस्तो अवस्थामा यसको असर इजरायल, इरान, कतार र मध्यपूर्वका अन्य देशहरुलाई मात्रै पर्दैन ।
भारतसहित दक्षिण एसियाली देशहरुलाई नै यसको गहिरो असर पर्नसक्ने देखिन्छ । इजरायल र इरानको द्धन्द्धको असर भारत हुँदै क्रमशः नेपाल जस्ता साना देशहरुमा पनि पर्ने सम्भावना भविष्यमा छ ।
भारत र दक्षिण एसियाली क्षेत्रको आपूर्तिमा ठूलो समस्या पर्ने धेरैले चेतावनी दिँदैआएका छन् । भारतसहितका देशहरुमा आपूर्ति समस्या कसरी निम्तिनेछ भनेर जान्नुअघि पहिले सबैभन्दा ठूलो समुद्री मार्गहरुमध्ये एक हर्मुज स्ट्रेटबारे थाहा पाउनु जरुरी छ ।
उक्त समुद्री मार्ग ढुवानीका हिसावले निकै महत्वपूर्ण मानिन्छ । किनकि यो विशाल समुद्री मार्गमध्ये एक हो । जहाँबाट ठूलो मात्रामा तेल आपूर्ति हुने गरेको छ । र कुनै पनि द्वन्द्व र युद्धको क्रममा यही मार्ग रोकिदिने चेतावनी दिने गरिन्छ । जुन चेतावनी यसपटक पनि दिइयो ।
बितेका वर्षहरुमा इरानले धेरैपटक यो मार्ग रोकिदिने चेतावनी दिँदैआएको छ । यसपटक पनि युद्धविराम हुनुअघि इरानको संसदले उक्त मार्ग बन्द गर्नका लागि अनुमति दिइसकेको थियो । जसले गर्दा यस क्षेत्रको ढुवानी लगभग पूर्ण रुपमा प्रभावित हुने चिन्ता हुने गरेको छ ।
र उक्त मार्ग बन्द हुँदा त्यसको असर दक्षिण एसिया मात्रै नभएर अमेरिकालाई पनि प्रत्यक्ष पर्नेछ । त्यसैले पनि अमेरिकाले उक्त मार्ग बन्द नगराउनका लागि इरानलाई तयार पारिदिन भन्दै चीनलाई आग्रह गरेको थियो ।
होर्मुज स्ट्रेट के हो र किन महत्वपूर्ण छ ?

विश्वभरको तेल र ग्यास आपूर्तिका लागि प्रयोग गरिने प्रमुख समुद्री मार्ग नै होर्मुज स्ट्रेट हो । मध्यर्पूका तेल भन्डार भएका देशहरुसहित एसिया, युरोप, उत्तर अमेरिकासहितका देशहरुलाई यसले जोड्छ ।
ओमान र फारसको खाडीको बीचमा पर्ने होर्मुज स्ट्रेट इरान र ओमानको समुद्री सीमासम्म आइपुग्छ । यो सांघुरो जलमार्ग पनि हो जब कि, एक ठाउँमा त जम्मा ३३ किलोमिटर चौडाइ मात्रै छ ।
साउदी अरब, युएइ, कुवेत र इरान जस्ता देशहरुबाट निर्यात हुने कच्चा तेल यही मार्ग भएर अन्य देशमा पठाइन्छ । यसवाहेक विश्वभर सबैभन्दा धेरै लिक्विफाइड नेचुल ग्यास निर्यात गर्ने देश कतार पनि यही मार्गमा निर्भर रहँदैआएको छ ।
यसरी होर्मुज स्ट्रेटलाई लिएर धेरै देशहरुको चिन्ता हुने गर्छ । विशेषगरी इरान जोडिएर हुने कुनै पनि युद्धमा धेरैको चासो र चिन्ता यही जलमार्गलाई लिएर हुने गर्छ ।
जुन यसपटक पनि भयो । यद्यपि भविष्यमा इरानले आफ्नो अन्तिम अस्त्रको रुपमा यसलाई बन्द गर्नसक्ने क्षमता राख्ने भएकाले पनि इरानलाई शक्तिशाली राष्ट्र मानिन्छ । यदि यो जलमार्ग बन्द भयो भने विश्वव्यापी तेल अपूर्तिको लगभग २० प्रतिशत प्रभावित हुने बताइन्छ । र यसको सिधा अर्थ हो यसले तेलको चरम महंगी निम्त्याउन सक्नेछ ।
जसमध्ये भारतले आफ्नो जम्मा आयातको ६० प्रतिशत तेल साउदी अरब, इराक र युएइ जस्ता खाडी देशबाट ल्याउने गर्छ । उसले हरेक दिन ५० लाख ब्यारेल भन्दा धेरै कच्चा तेल भारतले मात्रै खरिद गर्छ । जसमध्ये २० लाख ब्यारेल मात्रै होर्मुज स्ट्रेट भएर ल्याउने गर्छ ।
यसबाट के पुष्टि हुन्छ भने, आपुर्ति तथा ढुवानीका लागि भारतसँग निर्भर रहँदैआएको नेपाल जस्तो भूपरिवेष्ठित देश भारतलाई असर पर्दा पनि त्यसको असर भोग्नुपर्ने हुन्छ ।
तैपनि भविष्यमा यस्ता आउनसक्ने खतरालाई मध्यनजर राख्दै आफ्नो आफूर्तिका वैकल्पिक मार्गको खोजी भने गरिएको छैन । जवकि भारतले भने यस्ता मार्गको विकल्प खोजी गरिरहेको छ ।
यसपटक इरान र इजरायलको युद्धबाट कतार त प्रत्यक्ष प्रभावित भयो नै । यसवाहेक नेपाल जस्ता विकासशील देशहरु पनि त्यसको क्षति बेहोर्ने अवस्थामा पुग्नै लागे ।
उदाहरणका लागि कतारमा जब इरानले आक्रमण गर्यो, त्यहाँ रहेका हजारौं नेपाली कामदारको रोजगारी खोसिने मात्रै नभएर नेपालमा रेमिटेन्स रोकिने र नेपाली युवाहरु काम छाडेर स्वदेश फर्किन बाध्य हुने अवस्था देखियो । र यस्तो सम्भावना जुनसुकै बेला खाडी मुलुकहरु द्धन्द्धमा पर्नासाथ नेपाल पनि त्यसको असर भोग्न तयार भएर बस्नुपर्ने हुन्छ । यस्ता गम्भीर चुनौतीका बावजुद नेपाल सरकारले भने कुनै पूर्वतयारीहरु गरेको छैन ।
यतिसम्म कि, युद्धविराम हुनुअघि इरानले कतारमाथि आक्रमण गरेपछि हवाइ यातायातमा असर परेको थियो । जसले गर्दा नेपालबाट कतार जाने विमान पनि डाइभर्ट भए । कतिपय उडान स्थगित भए । फलस्वरुप ठूलो संख्यामा नेपाली युवाहरु कतार जानबाट रोकिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रातभर भुइँमा सुत्न बाध्य भए ।
तैपनि नेपाल सरकारले राजधानी काठमाडौंमै ती यात्रुहरुको उद्धार गर्न सकेन । यसरी अवस्थामा खाडी राष्ट्रहरुमा कुनै पनि बेला हिंसा वा द्वन्द्व हुँदा रोजगारीको रुपमा रहेका ३ लाखभन्दा नेपालीहरु नेपाल फर्किने अवस्था आउनेछ । अर्थात् नेपाल युद्धमा सहभागी नभएरै पनि यो बाछिटाबाट भने भाग्न सक्ने छैन ।












