काठमाडौं। इरानका राष्ट्रपति मसूद पेजेशकियान अमेरिका–इसराइलसँगको युद्धबारे छिमेकी देशसँगको विषयमा बोलेका छन्। उनले छिमेकी देशहरूलाई भनेका छन् कि उनीहरू ‘युद्धबाट जोगिन चाहन्थे, तर उनीहरूलाई त्यसका लागि बाध्य बनाइएको हो।
पेजेशकियानले एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘हाम्रा मित्र र छिमेकी देशका सम्मानित नेताहरू, हामीले तपाईंसँग मिलेर र कूटनीतिक माध्यमबाट युद्धबाट जोगिन प्रयास गरेका थियौँ। तर अमेरिकी–जायोनिस्ट सैन्य आक्रमणले हामीलाई आफ्नो रक्षा गर्न बाध्य बनाएको छ।’
उनले छिमेकी देशहरूलाई भने, ‘हामी तपाईंहरूको अधिकारको सम्मान गर्छौँ र विश्वास गर्छौँ कि यस क्षेत्रको सुरक्षा र स्थिरता यहाँका देशहरूको सामूहिक प्रयासबाट मात्र हासिल हुन सक्छ।’
ईरानको संस्था फाउन्डेशन अफ मार्टियर्स एंड वेटरन्सका अनुसार इरानमा युद्ध सुरु भएयता हालसम्म १ हजार ४५ शव गाडिएको छ। १९ प्रान्तमा भएका १०४ आक्रमणमा कुल १ हजार०९७ जनाको मृत्यु भएको छ। साथै, ५ हजार ४०२ सर्वसाधारण घाइते भएका छन्, जसमा १०० जना बालबालिका पनि छन्।












