काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको आइपिओ मंगलबार बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा गरिएको बाँडफाँटले जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण अझै उच्च रहेको देखाएको छ।
कम्पनीले फागुन १७ देखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियो। तर माग अत्यधिक बढेपछि बाँडफाँट गोलाप्रथाबाट गर्नुपरेको हो।
बिक्री प्रबन्धकका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भए भने ३६ हजार ५०० आवेदन विभिन्न प्राविधिक कारणले रद्द भएका छन्। स्वीकृत आवेदनबाट मात्रै २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर माग भएको थियो, जुन उपलब्ध शेयरभन्दा धेरै गुणा बढी हो।
यसका आधारमा केवल १ लाख ८४ हजार २६० जनाले मात्र १० कित्ताका दरले शेयर पाएका छन्। यसको अर्थ करिब २४ लाख ६६ हजारभन्दा बढी आवेदक शेयर नपाई खाली हात परेका छन्।
यो तथ्यले पछिल्लो समय प्राथमिक बजारमा साना लगानीकर्ताको चाप घटेको छैन भन्ने देखाउँछ। बैंक निक्षेपको ब्याजदर घट्दै जाँदा र दोस्रो बजारमा अनिश्चितता कायम रहँदा सर्वसाधारण अझै आईपीओलाई सुरक्षित प्रारम्भिक लगानीको माध्यमका रूपमा हेरिरहेका छन्।
विशेषगरी जलविद्युत् कम्पनीका आईपीओमा उच्च आवेदन पर्ने प्रवृत्ति पछिल्ला केही वर्षदेखि निरन्तर देखिँदै आएको छ। न्यूनतम १० कित्ता पाउने आशामा ठूलो संख्यामा लगानीकर्ता सहभागी हुँदा धेरैजसो कम्पनीको आईपीओमा भाग्यकै भरमा शेयर पर्ने अवस्था बनेको छ।
अब शेयर पाएका लगानीकर्ताले सूचीकृतिपछि दोस्रो बजारमा कारोबार खुल्ने प्रतीक्षा गर्नेछन्। बजार विश्लेषकहरूका अनुसार सूचीकृतिको प्रारम्भिक दिनमा मूल्यमा तीव्र उतारचढाव देखिन सक्ने भएकाले लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, उत्पादन क्षमता र दीर्घकालीन प्रतिफल हेरेर निर्णय लिनुपर्ने सुझाव दिएका छन्।












