काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (शेयर) खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले यसका लागि गत असार १९ गते अनुमति दिएको थियो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याइएको आईपीओ जारी गरी बाँडफाँड गरिसकेको छ।
अब भने १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो।
सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस अनुसार न्यूनतम १ हजार रुपैयाँ र अधिकतम २० लाख रुपैयाँसम्म लगानी गर्न सकिन्छ। आवेदन भदौ १५ गतेसम्म दिन सकिनेछ। तर सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि भदौ २५ गतेसम्म लम्बिन सक्नेछ।
केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर–एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।
कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँडको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।












