काठमाडौं । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्।
बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरेका हुन्।
नेपाल फर्किएका ढाँटले नोएडामा सम्पन्न प्रतियोगितामा टाइटल होल्डर चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै उपाधि आफ्नो नाममा पारेका थिए। यस जितसँगै उनले एमएफएन बेल्ट जितेर नेपालको नाम अन्तर्राष्ट्रिय खेलक्षेत्रमा उजागर गरेका छन्।
रविन्द्र सोमबार काठमाडौं आइपुगेका थिए र उनीमाथि राष्ट्रिय तहमा समेत खेलाडी र खेलप्रेमीहरूले खुशी व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले खेलाडीको सम्मान र खेलक्षेत्रको विकासमा सरकारको विशेष ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।












