काठमाडौं । रोटरी क्लब अफ बालाजुको आयोजनामा तारकेश्वर नगरपालिका–१, काठमाडौंस्थित कुंचीप्वाकल माध्यमिक विद्यालयमा तीन दिनसम्मको आईसीटी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त तालिमले शिक्षकहरूको डिजिटल उपकरण प्रयोग गर्ने क्षमता अभिवृद्धि गरी प्रभावकारी अध्यापन-अध्ययनमा सहयोग गर्ने उद्देश्य राखिएको थियो । कार्यक्रममा २५ जना शिक्षकहरूको सहभागिता रहेको थियो, जसमा ९ जना महिला र १६ जना पुरुष शिक्षक सहभागी भएका थिए ।
कार्यक्रमलाई रोटरी क्लब अफ काठमाडौंले प्राविधिक सहयोग तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले आर्थिक सहयोग प्रदान गरेको थियो । जसको उद्देश्य शिक्षकलाई आइसीटीलाई कक्षा अभ्यासमा समावेश गर्न सशक्त बनाउने र विद्यालय तहमा शिक्षा गुणस्तर सुधार गर्ने रहेको क्लबकी अध्यक्ष शोभा कुमारी पौडेलले जानकारी दिइन् ।

उक्त तालिमले सरकारी र निजी विद्यालयबीचको डिजिटल खाडल (Digital Gap) कम गर्ने दिशामा महत्वपूर्ण कदम चालेको बताउँदै विद्यार्थीलाई आधुनिक, आकर्षक र व्यवहारिक शिक्षा–अध्ययनको अनुभव दिलाउने विश्सवा आफुले लिएको क्लबकी अध्यक्ष पौडेलको धारणा छ ।
आजको विश्वमा सूचना तथा सञ्चार प्रविधि (आइसीटी) शिक्षा गुणस्तर सुधार गर्ने एक महत्वपूर्ण उपकरण बनेको छ तर धेरैजसो सरकारी विद्यालयहरूले आइसीटीलाई प्रभावकारी रूपमा प्रयोग गर्न गम्भीर चुनौतीहरू सामना गरिरहेका छन् ।
शिक्षकहरूमा उचित तालिमको कमी, विद्यालयमा सीमित स्रोत–साधन र विद्यार्थीहरूले आधुनिक विधिबाट सिक्ने अवसर गुमाउने अवस्थामा शिक्षकहरूका लागि आइसीटी तालिमले यी समस्याहरू समाधान गर्न मद्दत गर्दछ। यसमार्फत शिक्षकहरूले कम्प्युटर, प्रोजेक्टर, मल्टिमिडिया, अनलाइन स्रोतहरू जस्ता उपकरणहरू प्रयोग गरेर अध्यापनलाई अझ प्रभावकारी र अन्तरक्रियात्मक
बनाउन सिक्छन् ।
आइसीटी तालिम अघि सरकारी विद्यालयहरूले भोगेका समस्याका रुपमा शिक्षकहरूमा डिजिटल अध्यापन उपकरणसम्बन्धी सीमित वा कुनै ज्ञान नहुनु, परम्परागत अध्यापन विधि नै कक्षाकोठामा हावी हुनु, विद्यार्थीहरूको कम संलग्नता र व्यवहारिक सिकाइको कमी, सीप अभावका कारण उपलब्ध आइसीटी स्रोतहरूको पर्याप्त प्रयोग नहुनु रहेका छन् ।
शिक्षक र विद्यालयलाई आइसीटी तालिमका लाभहरुमा शिक्षकहरू डिजिटल उपकरण र आधुनिक विधि प्रयोग गर्न आत्मविश्वासी बन्ने, पाठहरू अन्तरक्रियात्मक, व्यवहारिक र विद्यार्थीमैत्री बन्ने, विद्यार्थीहरूले डिजिटल साक्षरता र आलोचनात्मक सोच्ने क्षमता विकास गर्ने, निजी र सरकारी विद्यालयबीचको शिक्षा खाडल ((gap) कम गर्न सहयोग पुग्ने, शिक्षण गुणस्तर र सिकाइ परिणाममा समग्र सुधार हुने रहका छन् ।
तालिमका अवसरमा विद्यालयका प्राचार्य राजु नेपाललाई रोटरी क्लब अफ बालाजुको बैठकमा सहभागी भएका थिए । प्राचार्य नेपालले आइसीटी तालिमलाई विद्यालयहरूको लागि एकदमै आवश्यक र समयसापेक्ष कार्यक्रम भएको भन्दै प्रशंसा गर्नुका साथै भविष्यमा पनि रोटरी इन्टरनेशनलले यस्ता थप पहलहरू निरन्तर अघि बढाउनुपर्ने आवश्यकता समेत औंल्याएका थिए ।












