काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने नेताका कार्यकर्ताले नैतिकताको पाठ अरुलाई नपढाउन सुझाव दिएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर उठाइएको प्रश्नप्रति जवाफ दिँदै यस्तो बताएका हुन्।
प्रधानमन्त्रीसँग विदेश भ्रमणमा जाने टोली मन्त्रिपरिषद्को निर्णय अनुसार तय हुने र ती नामहरू सार्वजनिक हुने प्रष्ट पार्दै उनले भने, ‘को–को प्रधानमन्त्रीसँग गए, तीमध्ये को फर्किएन भनेर भन्नुभयो भने सरकारलाई सजिलो हुन्थ्यो।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई न्यूनतम जानकारी राख्न आग्रह गर्दै कल्पनामा आधारित आरोप लगाएर भ्रम सिर्जना नगर्न चेतावनी दिए। गृहमन्त्री लेखकले राष्ट्रिय सभा सदस्य रवि लामिछानेलाई लक्षित गर्दै थपे, ‘रवि लामिछानेज्यू भिजिट भिसामै अमेरिकामा जानुभएको थियो भन्ने सुनेको छु। यदि त्यस्तो हो भने, भिजिट भिसामा गएर उतैको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? त्यो भिसाको दुरुपयोग हो कि होइन?’
उनले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताले अरूलाई नैतिकताको पाठ पढाउनु उचित नहुने टिप्पणी गरे। “नैतिकताको कुरा अरूबाट अपेक्षा गर्नु अघि आफैँबाट सुरु गर्नु पर्छ,” गृहमन्त्री लेखकले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको स्पेन भ्रमणपछि केही सांसदले भ्रमणमा सहभागी केही व्यक्ति उतै बसेको भन्दै प्रश्न उठाएका थिए। सोही सन्दर्भमा गृहमन्त्री लेखकले सदनमा धारणा राखेका हुन्।












