काठमाडौं । चितवनको चनौली वितरण केन्द्रमा देखिएको लोड व्यवस्थापनको समस्याबारे बुझ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत निरीक्षणका लागि चितवन पुगेका छन्।
चनौली वितरण केन्द्रले अत्यधिक लोडका कारण संरचनामा समस्या देखिएपछि साउन ११ गते लोडसेडिङको तालिका सार्वजनिक गरेको थियो। यसपछि शाक्य नेतृत्वको टोलीले समस्या समाधानका उपाय खोज्न भरतपुरस्थित सबस्टेसनसहित विभिन्न वितरण केन्द्रको मर्मत तथा निर्माण कार्यको प्रगति अवलोकन गरेको हो।
निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले तत्काल मर्मत कार्यलाई तीव्रता दिने र दीर्घकालीन समाधानका लागि आवश्यक योजना तयार पार्ने प्रतिबद्धता जनाए। उनले चितवनका विभिन्न स्थानमा देखिएका विद्युत् आपूर्ति समस्या समाधानका लागि प्राधिकरणले आवश्यक निर्णय गर्ने र आवश्यक संरचना विस्तारमा गति दिने बताए।
प्राधिकरणका अनुसार अत्यधिक लोडका कारण वितरण लाइन र संरचनामा क्षति देखिएका क्षेत्रलाई प्राथमिकतामा राखी मर्मत तथा विस्तार कार्य अघि बढाइनेछ।












