काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएसँगै हितेन्द्रदेव शाक्यले लोडेसेडिङ नहुनेमा ढुक्क रहन आग्रह गरेका छन्।
विगतमा पनि ६ महिना नेतृत्वमा रहेको स्मरण गराउँदै उनले उक्त समयमा पनि लोडसेडिङ नभएको र आगामी दिनमा उद्योगमा समेत लोडसेडिङ नहुनेगरी दीर्घकालीन समाधान खोज्न आफू अग्रसर भएर काम गर्ने बताए।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। अदातलबाट न्याय नपाएपनि सरकारले न्याय दिएकोसमेत शाक्यले बताए। सरकारको तर्फबाट पत्र पाएपछि योजनाहरु सार्वजनिक गर्नेसमेत उनले जानकारी दिए।
यसअघि सरकारले २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा प्राधिकरणमै तीन दशक बिताएका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। चार वर्ष समय तोकेर कार्यकारी निर्देशक बनाइएको भएपनि उनलाई ६ महिनामा नै सरुवा गरेर कुलमान घिसिङलाई ल्याइएको थियो।
नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङलाई सरकारले पहिलोपटक २०७३ साल भदौ २९ गते चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। चार वर्षका लागि नियुक्त भएका घिसिङको २०७७ भदौ २९ मा कार्यकाल सकियो। त्यसपछि सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
तत्कालीन सरकारले शाक्यलाई सरूवा गरेर २०७८ साउन २७ मा घिसिङलाई नै दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्यो। अहिले सरकारले पुनः शाक्यलाई नै नियुक्त गरेको हो।












