काठमाडौं । उद्धारका लागि चिनियाँ भूमिमा भुलवश पुगेको नेपाली सेनाको हेलिकोप्टर बुधबार बिहान फर्किएको छ। रसुवामा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धारका क्रममा उक्त हेलिकोप्टर मंगलबार साँझ केरुङ हुँदै चिनियाँ भूभागमा पुगेको थियो।
चिनियाँ जनमुक्ति सेनाले हेलिकोप्टरलाई अनुमति नलिई प्रवेश गरेको भन्दै होल्डमा राखेको थियो। त्यसपछि नेपालस्थित चिनियाँ दूतावास, ल्हासास्थित नेपाली महावाणिज्यदूतावास र नेपाली सेनाबीचको सहकार्यमा हेलिकोप्टर फर्काइएको हो।
नेपाली सेनाले भने हेलिकोप्टर प्राविधिक कारणले चिनियाँ भूभागमा अवतरण गर्नुपरेको र समस्या समाधानपछि फर्काइएको स्पष्ट पारेको छ। तर सुरक्षा स्रोतहरूका अनुसार अनुमति नलिई सीमापार प्रवेश गरेपछि चिनियाँ पक्षले हेलिकोप्टरलाई रोकिएको बताइएको छ।
हेलिकोप्टर फिर्ता भएपछि रसुवाको प्रभावित क्षेत्रमा नेपाली सेनाले सडक मर्मत तथा उद्धार कार्य बुधबार बिहानैदेखि पुनः सुरु गरिसकेको छ।












