काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब देशभरका सबै संघीय अस्पतालमा सेवा वापतको बिल अनलाइन र क्यूआर कोडमार्फत डिजिटल भुक्तानी गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार संघीय अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूलाई पत्र पठाएर डिजिटल भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको हो। यसले अस्पतालमा हुने भीड व्यवस्थापन गर्न र सेवा प्रक्रियालाई सहज बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा भीड कम गर्न र भुक्तानी प्रक्रिया छिटो गर्न डिजिटल भुक्तानीलाई अघि बढाउने निर्णय गरेको जानकारी दिएका छन्।
मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले डिजिटल भुक्तानीको कार्यान्वयन तथा प्रभावकारितामा अनुगमन समेत गर्ने तयारी गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूले दिएको ९ बुँदे प्रतिबद्धतामा भीड व्यवस्थापन पनि समेटिएको बताउँदै अब अनुगमनमा कडाइ गर्ने बताए।
यस नयाँ व्यवस्थाले बिरामी र सेवाग्राहीलाई सेवा लिन थप सहजता र पारदर्शिता मिल्ने अपेक्षा गरिएको छ।












