काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसदबाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको कांग्रेस सांसद राजेन्द्र बजगाईले जानकारी दिए ।
युरोपेली संघ (इयू) ले नेपालको हवाई सुरक्षाप्रति चासो जनाउँदै नियमनकारी निकायलाई विभाजन गर्न सुझावसमेत दिएको छ ।
छलफलमा कांग्रेस सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, सांसद ईश्वरी न्यौपाने, सञ्जय गौतम, उदयशमशेर राणा, राजन केसी, प्रतिमा गौतम, राजेन्द्र बजगाई, सरिता प्रसाई, रामकृष्ण यादव, पुष्पबहादुर शाही, शान्ति परियार, सीता मिजारलगायत सहभागी थिए ।












