काठमाडौं । जनकपुरधामस्थित होटल एसपी एण्ड गेष्टहाउसमा भएको हत्या प्रकरणमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको बलवा नगरपालिका–७ की २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार झालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ। धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार झा हत्या घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनामा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी २८ वर्षीय विमलेश यादव (शनि) को ज्यान गएको हो। प्रहरीका अनुसार शनिबार राति झा र यादव जनकपुरधामको उक्त गेस्टहाउसमा ९:५५ बजे एकसाथ गएका थिए। त्यसपछि यादवमाथि छुरा प्रहार गरी एकतल्लाबाट तल खसालिएको जनाइएको छ।
आइतबार बिहान उपचारका क्रममा यादवको मृत्यु भएको थियो। प्रहरीले घटनास्थलको सीसीटिभी फुटेजमा झा गेस्टहाउसबाट भाग्दै गरेको दृश्य देखिएको जनाएको छ। मृतक यादव र पक्राउ परेकी झाबीचको सम्बन्ध र हत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












