काठमाडौं । धरानका मेयर र श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङले आइतबार नयाँ दल दर्ता गरेका छन्। उनले पार्टीको उद्देश्य श्रमलाई माया गर्ने युवालाई मात्रै समेट्नु रहेको बताए।
साम्पाङले भने, “सिंहदरबार जलाउने सोच राख्ने युवाले हाम्रो दलमा स्थान पाउँदैनन्। हामी पेटको लागि मात्र होइन, देशका लागि सोच्ने युवा तयार गर्ने लक्ष्य राख्छौं। माटोलाई माया गर्ने, नेपालीलाई श्रमसँग जोड्ने युवाहरू तयार गर्ने हाम्रो उद्देश्य हो।”
उनले दललाई नयाँ जागरण ल्याउने पार्टी भएको दाबी गर्दै विरोधी दलहरूलाई पनि माया गर्ने दृष्टिकोण व्यक्त गरे। “एमाले र कांग्रेसले राम्रो गरे भने त्यसको सम्मान गर्नुपर्छ,” साम्पाङले भने।
साथै, साम्पाङले पत्रकार, कर्मचारी, वकिलजस्ता पेशामा आवद्ध व्यक्तिहरूलाई दलमा समावेश नगर्ने निर्णय भएको जानकारी दिएका छन्।
यससँगै श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भई आधिकारिक रुपमा राजनीतिक गतिविधि सुरु गर्ने तयारीमा छ।












