काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेटेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग धरान उपमहानगरपालिकाका मेयर साम्पाङले भेटेका हुन् ।
मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । ‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले मेयर साम्पाङलाई भने ।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि संघीय सरकारले तयार गरिसकेको छ । यसैगरी, भेटमा प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिलसाइट बनाउनुपर्नेमा जोड दिएका थिए ।













