काठमाडौं । काठमाडौं स्वयम्भू चोकदेखि चार किलोमिटर पश्चिमतर्फ रहेको हलचोक आकाश भैरव मन्दिर क्षेत्रमा १२ वर्षपछि आकाश भैरव जात्रा देखाइएको छ ।
१ वैशाखबाट सुरु भएको आकाश भैरवको १२ वर्षे जात्रा (सवः भग्गु)ले हल्चोक क्षेत्र उल्लासमय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले १ वैशाखमा पूजा र अवलोकन गरेर जात्रा सुरु भएको थियो । १२ वर्षे जात्रा वैशाख महिनाभर सञ्चालन हुन्छ ।
विभिन्न ठाउँमा नाच देखाउने क्रममा ६ वैशाखमा मरु डबलीमा मरुत्वाः पुचःको आयोजनामा नाच प्रदर्शन गरिएको थियो । ११ वैशाखमा असन डबलीमा असन सेवा समितिको आयोजनामा, १२ वैशाखमा दमाईं टोलमा काठमाडौं महानगरपालिका–१९ वडाको आयोजनामा, १३ वैशाखमा वतु, चिकंअतमा राजु डंगोलको संयोजकत्वमा नाच सञ्चालन गरिएको थियो । यस्तै, १८ वैशाखमा न्यतपाःच्वमा महानगरको १८ वडाको आयोजनामा, १९ वैशाखमा पहिको त्वाः, खुसिबुँमा (पहिको युवा क्लबको आयोजनामा), २० वैशाखमा ब्रह््मटोलमा, २१ वैशाखमा खुसिबुँमा, २५ वैशाखमा बहती (सोह्रखुट्टे)मा कुमारी क्लबको आयोजनामा, २७ वैशाखमा न्योखामा रविकृष्ण श्रेष्ठको संयोजनमा गरिएको छ भने ३१ वैशाखमा ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा नाच प्रदर्शन गरिनेछ । एक दिनमा एक ठाउँमा मात्र नाच प्रदर्शन तथा पूजा ग्रहण गर्ने हल्चोक आकाश भैरव आफ्नो टोल–छिमेकमा आमन्त्रण गर्न चाहनेले सम्पर्क गरी सहयोग गर्नसमेत आह्वान गरिएको छ ।
हलचोक आकाश भैरवलाई काठमाडौंका नेवाः समुदायले सवःद्य र सवःभकु (तीन देवता आकाश, चण्डी र कुमारी) पनि भन्ने गरेका छन् । एक हजार वर्षअघिदेखि जात्रा सुरु भएको मानिन्छ । अर्थात्, नेपाल संवत् १०७ मा राजा गुणकामदेवले जात्रा सञ्चालन सुरु गरेका थिए । देवमाला वंशावलीअनुसार राजा गुणकामदेवको सपनामा आएर महालक्ष्मी देवीले दर्शन दिएको जनविश्वास छ ।
महालक्ष्मी देवीको आदेशबमोजिम राज्यलाई शत्रुको भयबाट मुक्त गर्न हल्चोकमा आकाश भैरवसहित विभिन्न देवता तान्त्रिक विधिबाट उत्पन्न गरेका थिए ।
गुणकामदेवले येँ (काठमाडौं) रक्षा गर्नका निम्ति चारैतर्फ अष्टमातृका स्थापनासँगै भैरव पनि स्थापना गरेको किंवदन्ती रहेको छ ।













