काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थल सम्बन्धी आफ्नो कार्यकालका निर्णयहरूले राज्यलाई कुनै नोक्सानी पुर्याएको प्रमाण देखाउन चुनौती दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘म २०७६ साउन १५ गतेदेखि २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा थिएँ । सो अवधिमा पोखरा र भैरहवा विमानस्थलसम्बन्धी मेरो हस्ताक्षरबाट भएका निर्णयले यदि राज्यलाई कुनै नोक्सानी पुर्याएको छ भने, त्यसको प्रमाणसहित सार्वजनिक गरियोस् ।’
उनले आफूविरुद्ध योजनाबद्ध ढंगले आक्रमण भएको भन्दै उनले प्रमाणसहित आउन चुनौती दिएका छन् । भट्टराईले लेखेका छन्, ‘माथि औंला उठाउनेहरू नै यसमा पर्नेवाला छन्। सबै डकुमेन्ट मसँग सुरक्षित छन् । आवश्यक परे सार्वजनिक गर्नेछु ।’
उनले आफूमाथि जसले औँला उठाएका छन् उनीहरू नै दोषी भएको बताए। उनले थप लेखेका छन्, ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसँग छ। आवश्यक परे सार्वजनिक गरौँला।’
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताबारे संसदीय उपसमितिले अध्ययन गरिरहेको छ।
यी दुई विमानस्थलमा सांसदहरूका अनुसार राज्यको अर्बौं रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन थालिएको थियो। दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यी आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो।
३० अर्ब रुपैयाँको लगानीमा बनेको भैरहवा विमानस्थल २०७९ जेठमा र २४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो।












