काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने कानुनी व्यवस्थाअनुसार उनले आफ्नो, श्रीमती र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार उनले ४५ तोला सुन (पैत्रिक सम्पत्ति) र १५ लाख रुपैयाँ बराबरको हिरा (स्वआर्जन) स्वामित्वमा राखेका छन्। साथै उनले विभिन्न बैंक खातामा कुल २० लाख ६८ हजार रुपैयाँ रकम रहेको जानकारी दिएका छन्। सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकमा उनले बचत गरेका छन् भने सानिमा बैंकमा डलर खाता समेत रहेको उल्लेख गरेका छन्।
गभर्नर पौडेलको नामको डलर खातामा ६६ अमेरिकी डलर र उनकी पत्नी प्रतिभा शर्माको खातामा ४,446 अमेरिकी डलर (हालको विनिमय दरअनुसार झण्डै ६ लाख २२ हजार रुपैयाँ) रहेको उल्लेख गरिएको छ।
१५ लाखभन्दा बढी कित्ता सेयर
गभर्नर पौडेलले १५ लाख ३६ हजार ५८९ कित्ता सेयर आफू र श्रीमतीको नाममा रहेको बताएका छन्। सानिमा बैंकमा २ लाख ४४ हजार कित्ता प्रवर्द्धक सेयर रहेका उनलाई केही वर्षअघिसम्म सञ्चालक समितिमा समेत सहभागिता दिलाएको थियो। उनले सानिमा माइ हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी कम्पनीमा पनि ठूलो परिमाणमा सेयर लगानी गरेको उल्लेख गरेका छन्। उनका अनुसार मात्र सानिमा बैंकको सेयर मूल्य नै २ करोड ४४ लाख रुपैयाँभन्दा बढी छ।
घरजग्गा र गाडी
उनकी पत्नीको नाममा ललितपुरको भैसेपाटीस्थित ५ आना २ दाम जग्गामा २७९५ वर्गफिटको घर रहेको छ। यो सम्पत्ति उनले १ करोड ५५ लाख रुपैयाँमा खरीद गरिएको जनाएका छन्। त्यस्तै, नवलपरासीको गैंडाकोटमा ६० लाख रुपैयाँ मूल्य बराबरको अर्को जग्गा पनि रहेको विवरणमा उल्लेख छ। गभर्नरकी पत्नीको नाममा ४४ लाख रुपैयाँको सुजुकी कार रहेको छ, जुन उनले २०७७ सालको भदौमा खरिद गरेका हुन्।
सचीकृत कम्पनीमा लगानी प्राथमिकता
पौडेलले आफ्नो लगानी जलबिद्युत्, बैंक तथा लगानी कम्पनीमा केन्द्रित गरेको देखिन्छ। अधिकांश सेयर प्रवर्द्धक तहको छन्, जसले उनी निजी क्षेत्रको विकासमा पनि सक्रिय रहेको देखाउँछ।
गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक भएपछि पारदर्शिता र जवाफदेहिता कायम राख्ने सन्देश मिलेको विश्लेषकहरूले बताएका छन्।













