काठमाडौं । काठमाडौंको इँटाभट्टामा काम गर्दै अध्ययनरत गोमा श्रेष्ठले यसवर्षको एसईई परीक्षामा ४ जीपीएसहित उत्कृष्ट नतिजा हासिल गरेकी छन्। गोमाको पढाइ र भविष्यका लागि सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले उनलाई एमबीबीएस तहसम्म अध्ययन गराउने प्रतिबद्धता जनाएका छन्।
बिहीबार भाटभटेनीस्थित कार्यालयमा गोमालाई एक लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ। गुरुङ दम्पतीले सेन्ट जेभियर्स कलेज माइतीघरमा कक्षा ११ र १२ को अध्ययन पनि आफ्नै खर्चमा गराउने वचन दिएका छन्। त्यसपछि एमबीबीएस तहसम्मको पढाइका लागि आवश्यक सहयोग गर्ने तयारी रहेको उनले बताएका छन्।
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा बसोबास गर्दै आएकी गोमाले बिहान बेलुकी इँटा सुकाउने काममा परिवारलाई सहयोग गर्दै अध्ययन गरेकी थिइन्। उनले धान रोपाइँ मेला गएर फर्किँदा एसईई नतिजा आएको र ४ जीपीए प्राप्त गरेको थाहा पाएकी थिइन्।
गोमाले डाक्टर बन्ने सपना देखेको बताइन् भने, भाटभटेनी समूहका अध्यक्ष गुरुङले उनको संघर्ष र सपना पुरा गर्न आवश्यक सबै सहयोग गरिने बताए।
गोमाको यो प्रेरणादायक कथा मेहनत र अवसर मिल्दा ठूलो सफलता हासिल गर्न सकिने उदाहरण बनेको छ।












