भक्तपुर। भक्तपुरको थिमीमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । उक्त घटनामा प्रयोग भएको बन्दुक लाइसेन्स प्राप्त रहेको पाइएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले घटनामा प्रयोग भएको हतियार सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको जानकारी दिए ।
४० वर्षीय सनिप चाम्लिङ राईले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका थिए। मृतक राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यहरूले बताएका छन्। प्रहरीका अनुसार मृतक राई र हतियारधारी सूर्यकुमार नेम्वाङ साला–भिनाजु सम्बन्धमा रहेका छन्। यस घटनामा प्रयोग भएको बन्दुक भिनाजुको नाममा रहेको थियो।
राईले सोमबार दिउँसो करिब साढे ३ बजे मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित घरको चार तल्ले पक्की घरको चौथो तलामा कोठा बन्द गरेर आत्महत्या गरेका हुन्। बरामद बन्दुकमा जीएस–५ जर्मन लेखिएको छ। मृतक राई अविवाहित रहेका थिए।












