काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६०० रुपैयाँ पुगेको हो।
यसअघि मंगलबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिनमा सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढ्दै २ लाख नाघेको महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३६० रुपैयाँ पुगेको छ। सुनको मूल्य यसरी लगातार बढ्नुमा अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि, डलरको भाउमा आएको उतारचढाव र लगानीकर्ताको आकर्षण बढ्नु मुख्य कारण मानिएको छ।












