काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसविरुद्ध र देशमा व्यापक भइरहेको भ्रष्टाचार तथा बेथितिका विरोधमा जेन–जि पुस्ताले आज काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको छ।
सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरिने आयोजकहरूले जनाएका छन्। ‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को पहलमा हुन लागेको प्रदर्शनमा विभिन्न संघसंस्था र विद्यार्थीहरूको एक्यवद्धता रहनेछ।
आयोजक सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षरसहित जारी सूचनामा आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण र राजनीतिक हस्तक्षेपविहीन हुने उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, “हाम्रो उद्देश्य भ्रष्टलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता ल्याउन र प्रशासनलाई राजनीतिक प्रभावमुक्त बनाउन हो।”
सन् १९९७ देखि २०१२ बीच जन्मिएका जेन–जि पुस्ताका युवाहरू, विद्यार्थी पोसाक र परिचयपत्रसहित प्रदर्शनमा सहभागी हुने जनाइएको छ।
प्रहरी प्रशासनले भने प्रदर्शनमा घुसपैठ हुन सक्ने आकलन गर्दै सुरक्षा सतर्कता बढाएको जनाएको छ। आइतबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाबारे छलफल गरेको हो।












