रानीपोखरी छेवैको घण्टाघर त हामी धेरैले देखेकै छौं । त्रिचन्द्र क्याम्पस अगाडि उभिरहेको घण्टाघरको घडीको अवस्था कस्तो छ ? भनेर हामीलाई खासै चासो छैन, वा धेरैलाई जानकारी पनि छैन । चासो होस् पनि किन ?, खल्तीखल्तीमा हुने मोबाइल फोनले समय दिइरहेको छ भने व्यस्त मानिसहरु आँखा तन्काएर किन हेरुन्, घण्टाघरको घडी चलिरहेको छ कि छैन भनेर ? हरेक बिहान ट्याङ ट्याङ घण्टी बजाएर राजधानी सहरलाई ब्युँझाउने यही घण्टाघरको अचेल आफ्नै खराब समय चलिरहेको छ ।
खराब समय अर्थात् घण्टाघरको दुर्दशा । हरेक दिन हजारौं मानिसहरु रत्नपार्क छेउछाउ भएर कुँदिरहेका हुन्छन् । तर धेरैलाई हेक्का छैन कि, घण्टाघरको घडी ट्याङ–ट्याङ गर्न छोडेको त ३ वर्ष भइसक्यो । र यो ऐतिहासिक धरोहर अहिले आफ्नै अस्तित्व मेटिँदै गरेको दृश्यको साक्षी बनिरहेको छ ।
घण्टाघर कसरी यस्तो हालतमा आइपुग्यो भनेर थाहा पाउन त्यहाँका एकजना पूर्वकर्मचारीको जागिरे आरोह अवरोह र तत्कालीन अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ । जो ३६ वर्षसम्म घण्टाघरको घडीलाई दम दिएर बसिरहे । घण्टाघरको समय मिलाउन टावर चढ्ने र ओर्लने गर्दा नै हजारौं घण्टाहरु बितिसकेको उनलाई मेसो भएन । तीनै कर्मचारीको करिअरसँगै एउटा ऐतिहासिक धरोहरले लामो यात्रा गरिरह्यो ।

२०४४ सालमा नेपालले काठमाडौंमा तेस्रो सार्क शिखर सम्मेलनको आयोजना गर्दै थियो । शिखर सम्मेलनमा थुप्रै विदेशीहरु र दातृ निकायका प्रतिनिधिहरु आउँदै थिए । तर त्यसबेला घण्टाघर आगलागीका कारण बन्द थियो । तत्कालीन सरकारलाई भने विदेशी पाहुनाहरुको अगाडि घडी नचल्ने घण्टाघर देखाउनु राष्ट्रिय लज्जाकै कुरा थियो ।
फलस्वरुप सार्क शिखर सम्मेलनको तयारी गरिरहँदा पञ्चायत सरकारले घण्टाघरको घडी चलाउन जान्ने कर्मचारीको खोजी गर्यो । धेरै प्रयत्न गर्दा पनि घडी चलाउन जान्ने र टावरमा उक्लिएर दम दिने सीप भएको प्राविधिक भेट्न मुस्किल नै भयो । त्यसो त शिखर सम्मेलनको आयोजना गर्न केही दिन मात्रै बाँकी थियो ।
सरकारबाट कर्मचारी खोजी भइरहेको समयमा भेटिएका थिए गणेश सापकोटा । उनलाई नै छनोट गर्नुको कारण के थियो भने, घण्टाघरमा आगलागी भइरहँदा सापकोटाले आगो निभाउने काममा विशेष भूमिका निभाएका थिए ।
यसरी सार्क शिखर सम्मेलन हुनुभन्दा केही दिनअघि मात्रै गणेश सापकोटालाई त्रिचन्द्र क्याम्पसमा बोलाएर भनियो, ‘सरकारले सार्क शिखर सम्मेलन गर्दैछ, विदेशीहरुको अगाडि घण्टाघरको घडी बन्द हुनुहुँदैन । त्यसैले तिमीले यो घडी चलाइदिनुपर्यो ।’
सापकोटा भने घडी बनाउने एक सामान्य प्राविधिक मात्रै थिए । उनलाई हातमा लगाउने घडी मात्रै बनाउन आउँथ्यो । तर घण्टाघरको घडी कसरी चलाउने थाहा थिएन । त्यसबीचमा उनले पुराना कर्मचारी र केही जानकारहरुलाई भेटेर घन्टाघरको घडीबारे प्राविधिक ज्ञान लिए ।
अन्ततः सापकोटालाई सरकारले घण्टाघर अपरेटरको रुपमा नियुक्त गर्यो । सापकोटालाई भने शिखर सम्मेलनमा जसरी पनि घडी चलाउनैपर्ने बाध्यता थियो । त्यसबेला दिइएको जिम्मेवारी उनले पूरा पनि गरे । यसरी घण्टाघरमा सुरू भयो सापकोटाको जागिर । काठमाडौंको उत्तरी काठ क्षेत्र फुटुङका बासिन्दा सापकोटाको ड्युटी पनि त्यस्तै अप्ठेरो थियो । टावरको घडी चलेको छ कि छैन भनेर दिउँसो मात्रै हैन, राति पनि ख्याल गरिरहनुपथ्र्यो ।
जतिबेला पनि घडी बन्द हुनसक्ने र दम दिइरहनुपर्ने भएकाले घण्टाघर नजिकै बस्नुपर्ने बाध्यता थियो उनलाई । यसैले उनी घण्टाघरबाट ७०० मिटर टाढा खिचापोखरीको एउटा साततले घरको सातौं तलामा बस्न थाले । ताकि घडी बन्द भयो भने दौडिँदै जान पाइयोस् ।
सापकोटाले आफ्नो ३ दशक लामो करिअरमा बिरलै मात्र घण्टाघरको सूई बन्द हुन दिएका थिए । सुई बन्द भएका दिनहरु गणना गर्दा १ देखि २ महिनासम्म । ७२ सालको भूकम्पको बेलामा २ साताजति बन्द भएको सम्झन्छन् सापकोटा । यस्तै सापकोटा बाआमाको काजकिरियामा बसेको बेला २ साताजति ।
घण्टाघरको इतिहास र ऐतिहासिकता

एउटा पाटोबाट सोच्ने हो भने यस्तो लाग्छ कि, अचेल हरेक मानिसको खल्ती खल्तीमा मोबाइल हुन्छ । हातमा घडी हुन्छ ।
कति बज्यो भनेर समय थाहा पाउन घण्टाघरको सूई हेरेर बस्ने को पो होला ?
तर ऐतिहासिक धरोहरको मानकका रुपमा स्थापित घण्टाघर शुद्ध समय देखाउन मात्रै हैन । ९० वर्ष पुरानो यो स्तम्भमा हल्लिरहेको पेन्डुलमले नेपालको शासन व्यवस्था र राजनीतिक इतिहासलाई पनि देखाउँछ ।
तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले बेलायत भ्रमणको क्रममा लन्डनबाट चारवटा ठूला घडीहरु ल्याए । आफ्ना चारवटा छोराका लागि उनले ती घडी ल्याएको बताइन्छ ।
घडी त ल्याए तर तीनलाई व्यवस्थित रुपमा झुन्ड्याउने ठाउँ थिएन । दरबारभित्रै लामो समय राखिरहँदा घडीको उपयोगिता पनि नहुने बिग्रिने पनि डर भएकालेपछि उनले चारैवटा घडीलाई एउटा स्तम्भ बनाएर त्यसको चार पाटामा चारवटा घडी राखिदिने विचार गरे ।
यसो गर्दा आमजनताले पनि समय हेर्न पाउने र आफ्नो नामको स्तम्भ पनि ठडिने वीर शमशेरको सोच थियो ।
त्यसो त, नेपालकै घण्टाघर जस्ता घडीका टावर अर्थात् क्लक टावरहरु बेलायत, फ्रान्स लगायत विकसित देशहरुमा पहिले नै प्रचलनमा थियो । वीर शमशेरले स्थापना गरेको घण्टाघर खासमा बेलायत मोडेलको क्लक टावरकै नयाँ शिलशिला थियो । त्यसबेला आम मानिसहरुसँग घडी हुँदैनथ्यो । समय हेर्नका लागि घाम र छायाको अन्दाज लगाउनुपर्ने अवस्था थियो ।
धेरै पछिसम्म हाम्रा हजुरबा हजुरआमाहरु पनि घाम डुब्न लागेको, घाम उदाउँदै गरेको र ओझेल परिरहेको नियालेर ठ्याक्कै समय पत्ता लगाउने गर्थे । त्यस्तो समयमा आम मानिसहरु भेला भइरहने चोक चौरको छेउमै वीर शमशेरले १८३४ मा घण्टाघर ठड्याएका थिए ।
वीर शमशेरको शोख र जनमुखी योजनाको रुपमा घन्टाघर राजधानीमा ठडिएको थियो ।
किनकी त्यसबेलाको समयमा समय हेर्न यो अपरिहार्य जस्तै थियो । त्यसो त, ९० सालको भूकम्पले घण्टाघर भत्काएर क्षतविक्षत बनाएको थियो । पछि वीर शमशेरका सन्तति तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले यसलाई पुनर्निर्माण गरे । राणा शासकहरु र पछि
पञ्चायतकालसम्म पनि घण्टाघर घण्टाघर सञ्चालनका लागि विशेष महत्व दिएका थिए । जस्तो कि, पञ्चायतकालसम्म पनि घण्टाघर संचालन गर्न सात जना कर्मचारी खटाइएका थिए । तर अचेल, राणाकालीन संग्रहालयका प्राचीन महत्वका तर अस्थिपन्जर मात्रै बाँकी रहेका थोत्रा सामग्री जस्तै बनेको छ घण्टाघर ।
उदेकलाग्दो त के छ भने, गणेश सापकोटा एक्लैले ३६ वर्षसम्म एउटै पद र एउटै कार्य क्षेत्रमा बसेर काम गरे । जब उनी उमेरहदका कारण सेवा निवृत्त भए, त्यसपछि घण्टाघरको पनि सूई बन्द भयो । सापकोटाको अवकाशपछि घण्टाघर सञ्चालन गर्न अर्को कर्मचारी आवश्यक पर्छ भन्नेबारे सरकारले ३६ वर्षसम्म पनि ध्यान दिएन ।
यतिसम्म कि, विशिष्ठ परिस्थितिमा जागिर खाएका सापकोटाकै पदमा नयाँ दरबन्दी नै छैन । घण्टाघर सञ्चालन गर्ने जिम्मा पाएको त्रिचन्द्र क्याम्पस प्रशासनसँग हामीले यसबारे सोधेका थियौं । क्याम्पस प्रमुख नीलिमा प्रधानका अनुसार नेपाल सरकारको सडक विभागले २ वर्षयता घण्टाघरको पुनर्निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।
तर स्थलगत अवस्था हेर्दा घण्टाघरमा पुनर्निर्माणको काम भइरहेको छैन । क्याम्पस प्रमुख प्रधानका अनुसार गत मंसिरसम्म पुनर्निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता थियो । तर क्याम्पस प्रमुख प्रधान भन्छिन्, सडक विभागका ठेकेदार नै सम्पर्कमा छैनन् । घण्टाघरको दुर्दशाबारे केही रिपोर्ट सार्वजनिक हुन थालेपछि काठमाडौं महानगरपालिकाले पनि यसबारे चासो देखाएको थियो ।
महानगरका मेयर बालेन साहले आफ्ना कर्मचारी र सहयोगीमार्फत अपरेटर गणेश सापकोटालाई बोलाएर घण्टाघर सञ्चालनबारे प्राविधिक जटिलता र तालिम सम्बन्धी चासो राखेका थिए । सापकोटा भन्छन्, ‘उहाँले चासो राख्नुभएको थियो । यदि घन्टाघर चल्यो भने मलाई तालिम दिनका लागि आग्रह गर्नुभएको थियो । म यसका लागि तयार छु ।’
महानगरका मेयर बालेन साह पनि यदि सरकारले घण्टाघर सञ्चालन गर्न नसक्ने भए महानगर यसलाई सञ्चालन गर्न तयार रहेको बताउँछन् । उनले यो कुरा त्रिचन्द्र क्याम्पसलाई पनि भनिसकेका छन् । महानगरका प्रेससहयोगी सुरेन्द्र बजगाईँका अनुसार महानगरले घण्टाघर चलाउने जिम्मा आएको खण्डमा केही महानगर प्रहरीलाई तालिम दिएर नियमित सञ्चालन गर्ने तयारी गरेको छ । तर त्रिचन्द्र क्यापस यसका लागि तयार छैन । आफै सञ्चालन गर्ने बरु सहायता लिने मनशायमा त्रिचन्द्र क्याम्पस छ ।
विरोधाभाष के छ भने, ३ वर्षदेखि ठप्प बनेको घण्टाघर कहिले तयार हुन्छ ? क्यापस प्रशासनलाई थाहा छैन । निर्माण सकिएपछि पनि नयाँ कर्मचारी वा अपरेटर भर्ना प्रक्रियाको कार्यविधिको तयारी पनि हालसम्म भएको छैन ।
पूर्वकर्मचारी सापकोटा भने यदि सरकारलाई आवश्यक परेको खण्डमा आफूले फेरि नयाँ कर्मचारीलाई तालिम सिकाउन तयार रहेको बताउँछन् । यसबीचमा महानगरले घन्टाघर नजिकैको लाइब्रेरी निर्माणका लागि १५ लाख बजेट छुट्याइदिएको छ । त्रिचन्द्र क्याम्पस प्रशासनले भने महानगरले घन्टाघर पुनःनिर्माणका लागि नै बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
जबकी, घण्टाघरको सूई चलाउने काम प्रविधिक रुपमा र शारीरिक रुपमा निकै कठिन काम हुन्छ । घडीलाई दम दिनका लागि अग्लो टावरमा चढेर बेस्सरी खिचेर मेसिन घुमाउनु पर्छ । त्यो पनि एकै जना व्यक्तिलाई निकै मुस्किल गर्ने गरेको सुनाउँछन् सापकोटा । यसरी एकपटक घडीलाई दम दिएपछि एक सातादेखि दुई सातासम्म घडी चलिरहन्छ । र फेरि त्यसैगरी घडीलाई दम दिनुपर्छ । यसरी निरन्तर घडीमा दम दिने काम आफैँमा कठिन र झन्झटिलो पनि हुन्छ ।

प्राविधिक रुपमा भन्दा यो म्यानुअल्ली दम दिएर घडी चलाइरहने निकै पुरानो तरिकालाई फेरेर आधुनिक रुपमा स्वचालित घडी बनाउने कि भन्ने पनि बहस चलेको थियो । तर सम्पदाको रुपमा रहेको ऐतिहासिक धरोहरलाई पुरानै स्वरुपमा चलाउने धेरैको सहमतिछ । यसका बावजुद पछिल्लो समय अस्तव्यस्त बनिरहेको यो धरोहरलाई पुनःसंचालनमा ल्याउन नै मुस्किल भइरहेको छ ।
घण्टाघर सञ्चालनका लागि त्रिचन्द्र क्याम्पस एक्लैले चाहेर पनि सम्भव देखिँदैन । सामान्यतः घन्टाघर स्तम्भ कुनै सीमित सरकारी निकाय वा विभागको मात्रै जिम्मेवारीमा पर्ने विषय हैन । र सरकारी निकायहरु एकले अर्काको मुख ताकेर यसको सञ्चालन पनि सम्भव छैन । यसको कार्यक्षेत्रमा पर्ने त्रिचन्द्र क्याम्पस, काठमाडौं महानगर र पुरातत्व विभाग साथै सहरी विकासको पूर्वाधार निर्माणसमेतले घण्टाघरलाई केन्द्रमा राखेर काम नगरेसम्म यो सञ्चालन सहज छैन ।
अचेल स्थानीय सरकारहरुले करोडौं खर्च गरेर अनेक रुप रंगका घण्टाघरहरु निर्माण गरिरहँदा एउटा ऐतिहासिक सम्पदा बनेको राणाकालीन घण्टाघर भने राजनीतिक खिचातानी र कर्मचारीतन्त्रको सौदाबाजीको सिकार बनिरहेको छ ।












