काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरस्थित राईसमिलमा २०६३ साल चैत ७ गते घटेको ‘गौर हत्या काण्ड’ मा १९ वर्षपछि मुद्दा चलाउन आदेश दिएको छ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले त्रिभुवन साहद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै मुद्दा अगाडि बढाउन निर्देशन दिएको हो। साहले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहटलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चको आदेशसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि मुद्दामा तानिने भएका छन्। २०६३ सालको मधेश आन्दोलनको समयमा गौरस्थित राईसमिलमा यादवका निर्देशनमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरी हत्या गरेको दाबी त्यतिबेलाको माओवादी पक्षले गरेको थियो।
गौर हत्या काण्डमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए। घटनामा २७ जनाको तत्काल मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो। उनीहरू भाला, छुरा, लाठी र गोली प्रहारबाट निर्मम हत्या गरिएको बताइएको छ।












