गौर। रौतहट सदरमुकाम गौरमा दुई समुदायबीच भएको विवादले झडपको रुप लिएपछि असान्त छ। सुरक्षा व्यवस्था तरल बनेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारबाटै गौरमा कर्फ्यु लगाएको छ। सडकमा सेनासमेत परिचालन भएको छ । सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले जनमतका जिल्ला संयोजक शेख जमसेदलाई पक्राउसमेत गरेको छ। शेख गौर नगरपालिका– ६ का पूर्वअध्यक्षसमेत हुन् ।
शनिबारदेखिको कर्फ्युलाई आइतबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म केही खुकुलो गरिएको थियो। तर, फेरि कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को सूचना नआएसम्मका लागि कर्फ्युलाई निरन्तरता दिइएको बताए।
कर्फ्यु लागू भएका क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालयसम्म हो। जिल्ला प्रशासन कार्यालयले सबैलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । यदि कर्फ्यु आदेश उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।
गत बिहीबार राति पौने १० बजेतिर विवाहको जन्ती बौधिमाई नगरपालिका– ९, सरमुजवाबाट गौर– ६, सबगढातर्फ मस्जिदको बाटो हुँदै बाजा बजाउँदै जानेक्रममा स्थानीय दुई समुदायबिच विवाद भएको थियो। त्यतिवेलै ढुंगा हानाहान हुँदा ६ जना घाइते भएका थिए । भोलिपल्ट शुक्रबार दिनभर पनि झडप भएपछि प्रशासनले दुवै पक्षलाई राखेर ६ बुँदे सहमति गराएको थियो । तर, शनिबार पनि बिहानैबाट पुनः झडप निम्तिएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।












