काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा शनिबार बिहान राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

आज बिहान ७:३० बजेदेखि श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको छ।
त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाए। थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गर्यो।
गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुक उपस्थित भए।
मुस्ताङको कोबाङमा २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्छ। गौचनको यही कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको हो।

उनी नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्। उनी प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य थिइन्।
गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय थिइन्। गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ। गौचनका एक छोरा र एक छोरी छन्।












