काठमाडौं । गाजा पट्टीमा जारी इजरायली सैन्य अपरेशनका क्रममा हालै हमासद्वारा बन्धक बनाइएका आठ जनाको शव फेला परेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार तीन इजरायली बन्धकहरूको शव फेला परेको जानकारी दिंदै, गाजामा अझै बाँकी रहेका बन्धकहरूलाई मुक्त गराउन अभियान जारी रहने बताएका छन्।
फेला परेका शवहरूमा योनाटन समेरानो, ओफ्रा केइदार र स्टाफ सार्जेन्ट शाई लेभिनसन रहेका छन्। प्रधानमन्त्री नेतान्याहूले विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनले सफल अपरेशनको नेतृत्व गर्ने सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै, जीवित र मृत सबै बन्धकहरूलाई स्वदेश फर्काउनु नै इजरायलको मुख्य लक्ष्य भएको बताए।
इजरायली रक्षा बल (IDF) का अनुसार यो महिनामा मात्र गाजाबाट आठ बन्धकहरूको शव फेला परेको हो। तीन जनामध्ये ७१ वर्षीया ओफ्रा केदारलाई हमासले गएको वर्ष अक्टोबर ७ मा दक्षिण इजरायलस्थित किबुट्जबाट हत्या गरी शव गाजातर्फ लगेका थिए।
१९ वर्षीय स्टाफ सार्जेन्ट शाई लेभिनसन हमाससँगको भिडन्तमा मारिएका थिए भने योनाटन समेरानोको शव उनका पिताले सामाजिक सञ्जालमार्फत पुष्टि गरेका थिए।
शव फेला परेको दिन नै समेरानोको २३औं जन्मदिन पनि थियो।
इजरायली सेनाका अनुसार हमासले अपहरण गरेका २५१ मध्ये अझै करिब ५० जना गाजामा बन्धक रहेका छन्। तीमध्ये ३१ जनाको मृत्यु भइसकेको र बाँकीको अवस्था अस्पष्ट रहेको छ।
गत वर्ष अक्टोबर ७ को हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। ‘लर्न एन्ड अर्न’ कार्यक्रममा ११ महिनाका लागि इजरायल गएका उनीहरूमध्ये कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएको पुष्टि भए पनि उनको हालसम्म अवस्था अज्ञात छ।












