काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकार निर्माण लगायतका विषयमा पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने बताएका छन्।
शनिबार ४२ औं विपी स्मृति दिवसका सन्दर्भमा आयोजित एक कार्यक्रममा थापाले भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सहमति संसदमा पढेर सुनाउनुपर्ने बताए ।
‘हाम्रो सहमतिमा बन्ने प्रधानमन्त्रीले संसदमा भोलि विश्वासको मत लिँदै गर्दा यति बुँदामा नेपाली कांग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ,’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेबीच सहमति भयो भनेर भनिरहेको छ। ७ बुँदामा सहमति भयो भनेको छ । ७ बुँदा के हो भनेर भोलि पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु। किनभने हामीले त पढ्यौं त्यसलाई। पढेकै आधारमा पार्टीभित्र निर्णय ग¥यौं। पढेकै आधारमा निर्णय गरेको हुनाले कम्तिमा त्यसको एउटा मर्यादा राखौं भनेर हामीले सोच्यौं।’ प्रधानमन्त्रीले त्यसो गर्नेमा आफूलाई विश्वास रहेको समेत थापाले बताए।