काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङलाई हटाउन लागेर नचाहिने काम नगर्न ऊर्जामन्त्री दीपक खड्कालाई सुझाव दिएका छन्।
सिन्धुलीमा आयोजित एक कार्यक्रममा थापाले एउटा व्यक्तिमाथि सरकार नै लागेको जस्तो देखिएको भन्दै यस्तो नगर्न ऊर्जामन्त्री खड्का र प्रधामन्त्री केपी शर्मा ओलीलाई समेत सुझाव दिए।

उनले भने, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको। मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ। मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढङ्ग नपुगेको हो। तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्ति (कुलमान घिसिङ) को पछि सरकार नै लागेको देखिन्छ। यस्ता कुरा ठीक होइन। यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन।’
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि घुमाउरो तिरिकाले रोष प्रकट गरे। उनले मन्त्रीले नराम्रो काम गरे पनि रोक्ने काम प्रधानमन्त्री भएको सम्झाए। ‘प्रधामन्त्रीले राम्रो–नराम्रो काममा श्रेय पाउने हो। हामी सहयोगी मात्र हौँ। सरकारले सबै काम राम्रो गरोस्’, थापाले भने।
उनले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विवादका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। ५० वटा राम्रो काम गरे पनि एउटा मात्र नराम्रो कामको धेरै हल्ला हुने भन्दै उनले सके राम्रो गर्न र नसके नराम्रो काम नगर्न मन्त्री, प्रधानमन्त्रीलाई सुझाव दिए।
हाल उर्जामन्त्री खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउन मन्त्री परिषद्बाटै निर्णय गराएर हटाउन लागि परेका छन्। काठमाडौँ महानगरमा पनि सरकार र महानगर प्रमुखबीच विवाद चलिरहेको छ।












