काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकयता पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।
आइतबार आयोजित ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पूर्वन्यायाधीशको संयोजकत्वमा निष्पक्ष आयोग गठन गरी २०४६ सालपछिका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् । उनले यस्तो प्रस्ताव पार्टीको औपचारिक बैठकबाट पारित गराउनुपर्ने धारणा राखे ।
‘२०४६ सालको आन्दोलनपछि कांग्रेस सत्तामा आएको हो । त्यसयता वडादेखि केन्द्रसम्म जिम्मेवारी सम्हालेका हाम्रा नेताहरुको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाऔं,’ थापाले भने, ‘जसले जे गुमाए पनि हामी आँट गर्नुपर्छ । जेन–जी पुस्ताले हाम्रो कुरा तभ मात्र सुन्छ ।’
भ्रष्टाचार र अनियमितताविरुद्ध स्पष्ट मापदण्ड नबनाएसम्म नयाँ पुस्ताको भरोसा जित्न नसकिने उनको भनाइ थियो । उनले निष्पक्ष र कुनै दलप्रति पूर्वाग्रही नभएका व्यक्तिलाई आयोगको नेतृत्व दिनुपर्ने बताए ।












