काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको प्रमु्ख साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिआए यो सरकारबाट बाहिरिने बताएका छन् । विगत केही दिनयता लगातार ओली सरकारको आलोचना गरिरहेका उनले बिहीबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा भने, ‘यो बेला कांग्रेसले असन्तुष्ट र वेचैन समाजलाई आश्वस्त पार्न सक्नुपर्छ । पर्यो भने यस्तो सरकारबाट बाहिर जान पनि सक्छौँ ।’
फरक प्रसंगमा थापाले शीर्ष नेताहरू वैधानिक भए पनि वैध भने हुन नसकेको टिप्पणी गरे । उनले पार्टीका शीर्ष नेताहरू प्राविधिक र कानुनी रूपमा वैधानिक भए पनि उनीहरूले जनविश्वास भने गुमाएको उल्लेख गरे । उनले भने, ‘हाम्रो शीर्ष नेतृत्व वैधानिक छ, तर वैध छैन । जनमासनको वैधता छैन । पञ्चायतमा कांग्रेस वैध थियो तर राज्यले अवैध भनेको थियो र नेतालाई अराष्ट्रिय तत्व भनेको थियो । अहिले हामीले राजनीतिक वैधता गुमाएका छौँ, नेतृत्वप्रति श्रद्धा छ, तर आममानिसबाट विश्वास टुटिसकेको छ ।’ उनले पार्टीका शीर्ष नेतृत्व प्राविधिक र कानुनी रुपमा वैधानिक भए पनि जनताको नजरमा अविश्वनीय सिद्ध भइसकेको टिीप्पणी गरे ।
उनले अहिलेको नेतृत्व बदल्नुपर्ने आवश्यकता रहेको बताए । तर, नेतृत्व बदल्दैमा पर्याप्त नहुने बताए । उनले अहिलेको नेतृत्वलाई बदलेर आउने नेतृत्वले पनि काम गर्न सक्नुपर्ने बताए ।












