काठमाडौं । राष्ट्रिय लिग खेल्ने सात फुटबल क्लबले ‘नेसनल लाइसेन्स’ प्राप्त गरेका छन् । तोकिएका सबै मापदण्ड पूरा गरेपछि यी क्लबलाई लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
लाइसेन्स पाउने क्लबहरूमा मछिन्द्र फुटबल क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यू रोड टिम (एनआरटी), सातदोबाटो युथ क्लब र चर्च ब्वाइज युनाइटेड छन् ।
एन्फाको क्लब लाइसेन्स नियमावली अनुसार गरिएको यस प्रक्रियामा क्लबहरूको खेलकुद गतिविधि, पूर्वाधार, कर्मचारी तथा प्रशासनिक पक्ष, कानुनी र आर्थिक अवस्था जस्ता मुख्य क्षेत्रहरूको मूल्याङ्कन गरिएको थियो ।
यससँगै अब यी क्लब एएफसी क्लब लाइसेन्स प्रक्रियाका लागि आवेदन दिन र सहभागी हुन योग्य भएका छन् । यसले नेपाली क्लबहरूका लागि एएफसीका प्रतियोगिताहरू खेल्ने ढोका खोलेको छ, जसका माध्यमबाट उनीहरूले महादेशीय स्तरमा देशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।












