काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि सबै किसिमका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ।
साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयअनुसार मंगलबार यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र अनिवार्यरूपमा नम्बर प्लेट जडान गर्नुपर्ने स्पष्ट पारेको छ।
सरकारले तोकेको प्रणालीअनुसार सवारीधनीले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिएर तोकिएका इकाइमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
यसअघि विभागले सवारी तथा यातायात ऐन, २०४९ को अनुसूची–२ को भाग–२ बमोजिम सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो।
निर्देशिकाअनुसार तोकिएको राजस्व शुल्क यसप्रकार छः
दुई पाङ्ग्रेका लागि २ हजार ५०० रुपैयाँ
तीन पाङ्ग्रेका लागि २ हजार ९०० रुपैयाँ
साना तथा मझौला चार पाङ्ग्रेका लागि ३ हजार २०० रुपैयाँ
ठूला सवारीका लागि ३ हजार ६०० रुपैयाँ












