काठमाडौं । लोकप्रिय गायिका एलिना चौहान र पति विष्णु सापकोटाबीच सम्बन्ध विच्छेद भएको छ । एलिनाले पतिसँग सम्बन्ध विच्छेद गर्न काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । गायिका चौहानले आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन् ।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन । एलिनाका दाइ प्रल्हाद चौहानले सम्बन्धविच्छेदको पुष्टि गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ । आजदेखी मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रुपमा समाप्त भइसकेको छ ।’
एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । त्यही भएर डिभोर्स प्रक्रिया छिटो भएको हो । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए ।












