काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।
आचारसंहिताको पूर्ण पालना गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ ।
आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको आयोगले जनाएको छ ।
निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश र जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृत समक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले जनाएको छ ।












