काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि १५ दलको कागजात अध्ययन गरिरहेको जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा अघि १० दल र घोषणा पछि पाँच दलले निवेदन दिएका थिए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, धरान उपमहानगरपालिका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी, डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी लगायतका दलले हाल दर्ताका लागि आवेदन दिएका छन्।
आयोगले दल दर्ताका लागि विधान, नियमावली, घोषणापत्र, चुनाव चिन्ह, केन्द्रीय समिति विवरण, आय स्रोत र अन्य कानुनी कागजातहरू पूरा हुनुपर्ने बताएको छ।
निर्वाचन प्रयोजनका लागि आयोगले कात्तिक २८ गते दल दर्ताको सूचना प्रकाशन गर्ने र मंसिर १–१० गतेसम्म दल दर्ताको अवसर उपलब्ध गराउने तयारी गरेको छ।












