काठमाडौं । आगामी १७ कात्तिकमा हुने रुपन्देही- ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।
निर्वाचन आयोगद्वारा बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताको प्रक्रिया सुरु गरिएको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले २१ साउनदेखि २७ साउनसम्म कार्यालय समयभित्र दल दर्ताका लागि निवेदन दिन सक्ने छन् ।
दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ अनुसारको ढाँचामा निवेदन, दलको नाम, स्थापना मिति, दर्ता मिति, केन्द्रीय कार्यालय र पत्राचार ठेगाना, सम्पर्क विवरणसहितको प्रोफाइल, केन्द्रीय कार्यकारिणी, प्रदेश तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण र पछिल्लो आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने आयोगले जनाएको छ ।
त्यस्तै उपनिर्वाचन प्रयोजनका लागि उम्मेदवारको मनोनयनको अधिकार दिने निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमूना, संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरू पूरा गरिएको भन्ने प्रतिबद्धता पत्र र आयोगबाट स्वीकृत चेकलिष्ट (रुजुसूची) पनि पेश गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।












