काठमाडौं । कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही विजयी भएका छन्।
वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेकी जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए।
उक्त उपनिर्वाचनमा नेकपा (एमाले)का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत पन्तले बताए।
कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो। दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए। चार मत बदर भएको थियो।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो।
यसैबीच रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली कांग्रेसका भूपमणि पुनमगर विजयी भएका छन्। आइतबार भएको उपचुनावको मतगणना अनुसार उनी ६४३ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालय रोल्पाले जनाएको छ। एमालेका वेमग पुन ५३५ मत ल्याए। सो वडामा माओवादी केन्द्रका नरेशजंग सिंहले जम्मा ७० मत पाएका छन्। उनी तेस्रो स्थानमा रहे। दुईवर्ष अघिको स्थानीय चुनावमा कांग्रेसकै टंकबहादुर गुरुङले जितेका थिए। उनको निधन भएपछि उपचुनाव भएको हो।
दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन्
यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ ।
वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।












